संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव नेतृत्वको टोली काठमाडौँमा



2021-11-08    Samachar Sadhai

 काठमाडौँ, २२ कात्तिक (रासस) :   
संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव क्रिस्टियन सौन्देर्सको नेतृत्वमा रहेको टोली यहाँ आइपुगेको छ । राष्ट्रसङ्घद्वारा हरेक चार चार वर्षमा दिइने सोधभर्ना दरको समीक्षा र निरीक्षण गर्न उक्त निरीक्षण टोली आएको हो ।    
    
 सौन्देर्स नेतृत्वको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सीताराम खड्काले स्वागत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सहायक महासचिव सौन्देर्सले आजै प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटघाट गर्नुभएको छ ।    
    
 उहाँले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण समेत गर्नुहुनेछ । रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग सहायक महासचिवको नेतृत्वको टोलीले शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।    
–––