2021-11-14 Roshan Khanal
अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समिति (वासिङटन डिसी)को आयोजनामा पोखरामा एक दिने पर्यटन साहित्य उत्सव सम्पन्न भएको छ । पर्यटकीयस्थल सराङकोटमा आयोजित उत्सवमा कृति लोकार्पण, चर्चा परिचर्चा, रचना वाचनलगायत कार्यक्रम गरिएको थियो । साहित्य र पर्यटन एक अर्काका पर्याय भएकाले अनेसासले यस्ता उत्सव विभिन्न समय र स्थानमा सञ्चालन गर्दै आएकामा यस पटक पोखराको सराङकोटमा आयोजना गरिएको ‘ट्रस्टिज’ सदस्य ऋषि बरालले बताउनुभयो । उत्सवको पहिलो सत्रमा अनेसासका बोर्ड अफ ‘ट्रस्टिज’ सदस्य साहित्यकार तीर्थराज अधिकारीका ‘जुनका टुक्राहरू’ नामक अङ्ग्रेजी–नेपाली मुक्तक सङ्ग्रह र अधिकारीकै साधनाको स्वर्णवर्ष पुगेको अवसरमा प्रकाशित ‘साधनाको स्वर्ण वर्षः मुक्तकमणि तीर्थराज अधिकारी’ दुई कृति लोकार्पण गरिएको थियो । कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले दुवै कृति लोकार्पण गर्दै स्रष्टामा असल भावनाको विकास भए नयाँ कृति प्रकाशनका लागि विषयवस्तु खोज्नु नपर्ने धारणा व्यक्त गर्नुभयो ।स्रष्टाको सम्मान जिउँदैमा हुनुपर्नेमा जोड दिँदै उहाँले कृतिकार अधिकारीको साधनाको वास्तविक सम्मान भएको बताउनुभयो । अनेसासका केन्द्रीय सल्लाहकार सुमल गुरुङले भाषा, कला र साहित्यको उत्थानका लागि मात्र आफूहरू क्रियाशील नभएर पर्यटन र साहित्यलाई एकै सिक्काका दुई पाटा बनाएर अघि बढेको जानकारी दिनुभयो ।डा. जगन्नाथ रेग्मीले अधिकारीको जीवनयात्रालाई बुझ्न लोकार्पित कृति सहयोगी हुने धारणा व्यक्त गर्नुभयो ।कार्यक्रममा सहभागी स्रष्टालाई सम्मान पनि गरिएको थियो ।