2021-11-04 Samachar Sadhai
काठमाडौँ, १८ कात्तिक (रासस) :
राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा
आज सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो प्रस्तुत गरेका
छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा
ती कलाकारले देउसीभैलोसहित नेपालका विभिन्न क्षेत्र र भू–भागका लोकसंस्कृति प्रस्तुत
गरेका थिए । त्यसक्रममा सांस्कृतिक संस्थानका ३० जना कलाकारले नेपालको पूर्व र पश्चिमका
देउसीसहित नुगेको डाली, साकेला, घरपट्टि नानी, तिहारै आयो, टप्पा, रोयला, असारे महिनाजस्ता
लोक–सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
त्यसैगरी बालमन्दिरका बालबालिकाले पनि
देउसीभैलो प्रस्तुत गरेका थिए । राष्ट्रपति भण्डारीले देउसीभैलो प्रस्तुत गर्ने कलाकार
टोलीलाई सेलरोटी, फलफूल र दक्षिणा समेत प्रदान गर्नुभएको थियो । उहाँले देउसी भैलोलाई
दिइने परम्पराअनुसार नै बलेको दियो नाङ्लोमा राखेर चामल र सेलरोटीसहितको दक्षिणा आफैले
दिनुभएको थियो ।
राष्ट्रपति भण्डारीले आफ्ना मौलिक गीत,
सङ्गीत, कला र साहित्यले जुनसुकै देशलाई पनि समृद्ध बनाउन सहयोग पु¥याउने भन्दै नेपालको
लोकसंस्कृति विश्वमै विशिष्ट र अद्वितीय रहेको बताउनुभयो ।
उहाँले सांस्कृतिक संस्थानले नेपालको
लोक–संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धनमा निर्वाह गरेको भूमिका अतुलनीय रहेको
भन्दै आज प्रस्तुत देउसीभैलोका लागि सबै कलाकारलाई विशेष धन्यवाद दिनुभयो ।
उहाँले कोरोना महामारीले असहज बनाएको
नेपाली समाज र देशको अवस्थालाई सहजतातर्फ उन्मुख गराउन यस्ता सांस्कृतिक कार्यक्रमहरूले
पनि योगदान पु¥याउन सक्ने बताउनुभयो ।
राष्ट्रपति कार्यालयको आँगनमा यसरी आफ्ना
प्रस्तुति दिन पाएकामा कलाकारहरुले निकै खुशी व्यक्त गरेका थिए ।
–––