2021-11-04 Samachar Sadhai
काठमाडौँ, १८ कात्तिक (रासस) :
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज
साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक
लक्ष्मीपूजा पर्व मनाइएको छ ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले
वास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली
गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि धार्मिक विधिपूर्वक लक्ष्मी पूजा गरिएको हो । आज विशेषगरी
घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायत स्थानमा सरसफाइ गरी
दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ ।
आजको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका
लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म
गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो एवं अबीरले लक्ष्मीको पाइला बनाइ
लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन
गरी झिलीमिली बनाइ पूजा गरिने परम्परा छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित
थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसाको पनि पूजा गरी फलफूल,
सेलरोटी र फूलमाला चढाइएको छ । लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको
प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने गरिन्छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत
वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
घरका अलावा व्यापारिक प्रतिष्ठानमा आज
विधिपूर्वक लक्ष्मी पूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यकालगायत
प्रमुख शहर उज्यालोले झिलिमिलि बनेको छ । उपत्यकामा दशैँको भन्दा बढी नै चहलपहल देखिए
पनि कोरोना महामारीका कारण विगत वर्षमा जस्तो भने मानिस बजारमा निस्किएका छैनन् ।
आज साँझ युवतीहरु समूह बनाई घर घरमा भैलो
खेल्छन् । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल लोकको शासन
गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने
गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी
दिनुभयो ।
“भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा
भैलो हुन आएको हो, सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो”, उहाँले भन्नुभयो
। कर्णाली प्रदेशका स्थानीयवासी मनोहर लामिछाने खसराज्यमा शासन गरेका बलिराजाले नै
भैलोको चलन चलाएको भनी त्यस क्षेत्रमा चर्चा हुने गरेको बताउनुहुन्छ । आज भैलो खेल्न
आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी समेत दिने गरिन्छ । भैलो खेल्न आउनेलाई
दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक
विश्वास छ ।
–––