2021-11-12 Samachar Sadhai
काठमाडौँ,
२६ कात्तिक (रासस) ः
चीनको सियानमा अवस्थित
सियान मेडिकल युनिभर्सिटीमा स्थापित ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर
अफ प्रोफेसर राजीवकुमार झा’ चीन सरकारद्वारा आह्वान गरिएको अनुसन्धान इन्स्टिच्युटमा
छनोट भएको छ ।
चीनको साङ्सी प्रान्तको विज्ञान तथा प्रविधि मन्त्रालयले
चीनमा रहेर अध्ययन अनुसन्धान गरिरहेका चिनियाँ एवं विदेशी इन्स्टिच्युटका लागि गरेको
खुला प्रस्तावमा सो इन्स्टिच्युट पनि छनोट भएको चिनियाँ पत्रिका साङ्सी दैनिकले जनाएको
छ ।
उक्त दैनिक पत्रिकामा तीन महिनाअघि चीनभरका संस्थाबाट
प्रस्ताव आह्वान गरिएको थियो । सो आह्वानबमोजिम परेका आवेदनबाट २० संस्था र १० जना
व्यक्ति छानिएका सो पत्रिकाले जनाएको छ । छानिएका १० व्यक्तिमा प्रा डा राजीवकुमार
झा पनि हुनुहुन्छ । उहाँ हाल सियान मेडिकल युनिभर्सिटीमा प्राध्यापनरत हुनुहुन्छ ।
चीनको साङ्सी प्रान्तीय सरकारले गरेको आह्वानमा अनुसन्धानका लागि छनोट भएको यो पहिलो
विदेशी नामको संस्था हो ।
उक्त प्रान्तीय सरकारले सो प्रान्तमा विज्ञान तथा
प्रविधिका क्षेत्रमा गर्न सकिने विकास र विस्तारका लागि प्रत्येक दुई वर्षमा यसैगरी
खुला प्रस्ताव आह्वान गरी प्रतिस्पर्धात्मक रुपमा २० संस्था र १० जना अनुसन्धानदाता
छनोट गर्ने गर्दछ ।
यस वर्ष छनोट भएको सो इन्स्टिच्युट प्रा डा झाको
नाममा चीन सरकारले सन् २०१५ मा स्थापना गरेको हो । सियान मेडिकल युनिभर्सिटीमा स्थापित
सो इन्स्टिच्युटको पूर्वउपराष्ट्रपति परमानन्द झाले उद्घाटन गर्नुभएको थियो ।
उक्त इन्स्टिच्युटमार्फत स्वास्थ्य क्षेत्रमा पछिल्लो
समयमा देखिएका समस्या एवं चुनौतीका साथै विशेष गरी प्याँक्रियाजमा हुने क्यान्सरको
वृद्धिदर कम गर्न सकिने विषयमा अनुसन्धान गर्ने गरिएको छ । चीनको साङ्सी प्रान्तीय
सरकारले दिएको अनुसन्धानको यस अवसरबाट आफूलाई निकै खुसी लागेको प्रा डा झाले प्रतिक्रिया
दिनुभयो । उहाँले यसबाट नेपालको विज्ञान प्रविधिका क्षेत्रमा गर्न सकिने कार्यकाबारेमा
पनि अनुभव आदानप्रदान गर्ने बताउनुभयो ।
चीनका लागि नेपाली पूर्वराजदूत महेन्द्र पाण्डेले
एक नेपाली युवाका नाममा चीन सरकारले नै स्थापना गरेको सो संस्था र नेपाली प्राध्यापक
चीन सरकारद्वारा आह्वान गरिएको यो स्तरको प्रस्तावमा छनोट हुनु नेपालका लागि गौरवको
विषय हो भन्नुभयो ।