2021-11-12 Samachar Sadhai
– रमेश लम्साल नेपाल र भारतबीच विद्युत् आदान प्रदानका
लागि अन्तरदेशीय प्रसारण लाइनदेखि देशभित्रै उत्तर दक्षिण करिडोर जोड्ने गरी विभिन्न
आयोजना अगाडि बढाइएको छ । त्यस्तै पूर्वदेखि पश्चिमसम्म बिजुली आदान प्रदानका लागि
पनि उच्च क्षमताका आयोजना निर्माणका लागि आवश्यक तयारी गरिएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालय मातहतको विद्युत् विकास विभागमा ४०० केभी क्षमतामा प्रसारण लाइन निर्माणका
लागि परेको आवेदन हेर्दा पनि एउटा सकारात्मक सन्देश दिएको छ ।
काठमाडौँ, २६ कात्तिक (रासस) : बढ्दो
ऊर्जाको मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई
विशेष प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले १३२
केभी क्षमताको प्रसारण लाइनलाई वितरण लाइन बनाउने घोषणा गरिसकेकाले उच्च क्षमताका प्रसारण
लाइन अत्यावश्यक बन्न पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २३ वटा ४००
केभी क्षमताका प्रसारण लाइन अध्ययनको विभिन्न चरणमा रहेको जानकारी दिएको छ ।
प्राधिकरण, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी
र निजी क्षेत्रले पनि ठूला क्षमताका प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरेका छन्
। प्रसारण ग्रीड कम्पनीले इन्डो नेपाल बोर्डर ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणको
अध्ययन गरिरहेको छ । कैलालीको नेपाल–भारत सीमा क्षेत्रमा कूल २७ किलोमिटर लामो उक्त
प्रसारण लाइन निर्माण हुनेछ । सो प्रसारण लाइनले दुई हजार ५०० मेगावाट बराबरको बिजुली
प्रसारण गर्नेछ ।
यस्तै अरुण करिडोरमा सोही कम्पनीले ३५ किलोमिटर लामो
४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि अध्ययन गरिरहेको छ । सो प्रसारण लाइनले
दुई हजार २६० मेगावाट बिजुली प्रसारण गर्नेछ । सरकारी स्वामित्वको सो कम्पनीले भेरी
करिडोरमा नलगाड–मैनताडा ७५ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि अध्ययन गरिरहेको
छ । सो प्रसारण लाइनले दुई हजार ४०० मेगावाट बिजुली प्रवाह गर्दछ ।
छिन्चुदेखि बुटवलसम्म कूल २१६ किलोमिटर
लामो उच्च क्षमताको प्रसारण लाइन एससी पावर कम्पनीले अध्ययन गरिरहेको छ । सो प्रसारण
लाइनले ८६० मेगावाट बिजुली प्रवाह गर्नेछ । प्राधिकरणले दुधकोशी जलाशयको बिजुली प्रवाहका
लागि ९१ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ । सो प्रसारण
लाइनले ६०० मेगावाट बिजुली प्रवाह गर्नेछ ।
उत्तरी छिमेकी देशसँग नेपालको प्रसारण
प्रणाली जोड्ने गरी प्रस्ताव गरिएको ८० किलोमिटर लामो रातमाटे–रसुवागढी ४०० केभी क्षमताको
प्रसारण लाइनको अध्ययन अन्तिम चरणमा पुगेको छ । नेपाल र चीनबीच विद्युत् आदान प्रदानका
लागि महत्वपूर्ण मानिएको सो प्रसारण लाइनको अध्ययनको काम अन्तिम चरणमा पुगेको सम्बन्धित
आयोजनाले जनाएको छ ।
प्राधिकरणले नै बुढीगण्डकी करिडोरमा ८५
किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रस्ताव गर्दै अध्ययन गरिरहेको
छ । तिङ्ला हबदेखि ढल्केबरसम्म १५५ किलोमिटर, दमौली, कुश्मा बुर्तीबाङ हुँदै रुकुमको
बाफीकोटसम्म २०५ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइनको अध्ययन भइरहेको छ । यी
सबै प्रसारण लाइनले दुई हजार ५०० मेगावाटका दरले बिजुली प्रसारण गर्नेछन् ।
प्राधिकरणले नै अध्ययनको काम गरिरहेको
अन्य आयोजनामा न्यू बुटवल कोहलपुर १५० किलोमिटर र दोधारा–दैजी ९३ किलोमिटर लामो प्रसारण
लाइन छन् । ती आयोजनाले एक हजार ९३३ मेगावाट बिजुली बोक्नेछन् ।
सरकारी स्वामित्वको विद्युत् उत्पादन
कम्पनीले फुकोट कर्णाली र किमाथाङ्का अरुणमा ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका
लागि प्रस्ताव गरेको छ । प्राधिकरणको सहायक कम्पनीमार्फत अगाडि बढाइएको माथिल्लो अरुणको
विद्युत्गृहदेखि ६.५ किलोमिटर लामो प्रसारण लाइन निर्माणको पनि अध्ययन भइरहेको छ ।
प्राधिकरणले नै लमही–छिन्चु ९४ किलोमिटर,
सितलपाटी–इनरुवा १३० किलोमिटर तथा अरुण हबदेखि दुधकोशी ११५ किलोमिटर लामो प्रसारण लाइन
निर्माणका लागि आवश्यक प्राविधिक अध्ययन गरिरहेको छ । ती प्रसारण लाइनले चार हजार ४००
मेगावाटसम्म बिजुली प्रसारण गर्नेछन् ।
राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले बझाङ
पश्चिम सेती ७२ किलोमिटर र पश्चिम सेती– ोधारा १५५ किलोमिटर लामो उच्च क्षमताको प्रसारण
लाइन निर्माण गर्ने भएको छ । ती आयोजना पनि अध्ययनका विभिन्न चरणमा छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान
घिसिङका अनुसार उत्तर दक्षिण करिडोरमा उच्च क्षमताका प्रसारण लाइन निर्माणको कामलाई
रणनीतिकरूपमा अगाडि बढाइएको छ ।
काठमाडौँको नाङ्लेभारेदखि नुवाकोट रातमाटे
हुँदै बुटवल पुग्ने ३१२ किलोमिटर लामो प्रसारण लाइन निर्माणमा जटिलता उत्पन्न भएको
छ । सो परियोजनामा अमेरिकी सहयोग रहनेछ । एमसिसीको सहयोगमा अगाडि बढाउन लागिएको आयोजना
राजनीतिक चक्रव्यूहमा फसेको छ ।
तीमध्ये केही उच्च क्षमताका प्रसारण लाइन
अध्ययन सकिन लागेका छन् भने केहीको प्रारम्भिक अध्ययनको क्रममा छन् । नेपालमा प्रसारण
लाइन निर्माण गर्नु आफैँमा सबैभन्दा चुनौतीपूर्ण काम हो । प्राधिकरणका कार्यकारी निर्देशक
घिसिङको भनाइमा हरेक प्रसारण लाइनको एउटा टावर निर्माण गर्नु नै एउटा आयोजना बराबर
हो ।
नेपालमा विशेषगरी वन क्षेत्रको जग्गा
प्रयोग, सरकारी तथा निजी जग्गा प्राप्ति, प्राविधिक तथा अन्य स्थानीय समस्याको जञ्जालमा
आयोजनाहरु फसेका छन् । लामो समयदेखि निर्माण सुरु भएका आयोजनाहरु रुग्ण बनिरहेका छन्
। काठमाडौँ उपत्यकामा नै जग्गा प्राप्तिमा समस्या भएपछि विगत लामो समयदेखि काम हुन
नसकेको अवस्था छ ।
अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम
पदार्थको मूल्यवृद्धि भएपछि त्यसको प्रभाव नेपालमा पनि परेको छ । देशभित्रै उत्पादन
भएको बिजुली खपत गर्नका लागि पनि ठूलादेखि मझौला प्रसारण लाइन निर्माण जरुरी छ । तर,
समस्या यति धेरै छ कि, भनिसाध्ये छैन ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था
नेपाल (इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार सरकारले सहजीकरण गर्नु त परै जाओस्
कुनै पनि सहयोग उपलब्ध नहुने अवस्थाका कारण प्रसारण लाइन आयोजनाहरु एक पछि अर्को गर्दै
समस्यामा फसिरहेका छन् ।
विभिन्न सात मन्त्रालय, २३ विभागमा धाउनुपर्ने
अवस्थाका कारण आयोजना समयमै सम्पन्न हुन सकेका छैनन् । प्राधिकरणले नै निर्माण गरिरहेका
आयोजना समस्यामा फसेका छन् । जलविद्युत् आयोजना निर्माण सम्पन्न भई बिजुली उत्पादन
गरिसकेको भए पनि प्रसारण लाइन नहुँदा खेर गइरहेको छ । रामेछापको गज्र्याङ–खिम्तीमा
अवस्था यस्तै देखिएको छ ।
लामो प्रयासपछि बल्ल सोलु करिडोर प्रसारण
लाइन निर्माण प्रक्रिया अगाडि बढेको छ । तर, भरतपुर बर्दघाट खण्डमा दुई वटा टावर निर्माण
हुन नसक्दा पूर्वको बिजुली पश्चिम नेपाल पठाउन समस्या भइरहेको प्राधिकरणको भनाइ छ ।
ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल
प्रसारण लाइन निर्माणमा देखिएको जटिलतालाई समग्रतामा सम्बोधन गर्ने गरी प्रयास भइरहेको
बताउनुहुन्छ । सरकारले अत्यावश्यक प्रसारण लाइन निर्माणमा देखिएको जटिलता फुकाउन शीघ्र
निर्णय गर्नुपर्ने ऊर्जा उद्यमीको माग छ ।
–––