2021-11-12 Samachar Sadhai
कर्णाली, २६ कात्तिक (रासस) :
कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख
तिलक परियारले आज पदभार ग्रहण गर्नुभएको छ । पदबहाली गर्नुभएका प्रदेश प्रमुख परियारलाई
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव
राजकुमार शर्मा, सचिव तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभयो । उक्त स्वागत
कार्यक्रममा प्रदेश प्रमुख परियारले संविधानले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारप्रति
दृढ रहेर सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“कर्णालीवासी र यहाँको सम्पूर्ण विकासको
सवालमा म निष्पक्ष र ईमान्दारिताका साथ काम गर्नेछु र त्यसमा यहाँको साथ सहयोग रहनेछ”,
उहाँले भन्नुभयो, “यहाँहरूबीच आएका काम गर्ने अवसर पाउँदा मलाइ खुशी र गौरव लागेको
छ ।” इतिहासले कर्णालीवासीका लागि काम गर्ने अवसर दिएको उहाँको भनाइ थियो ।
नेपाल सरकारको यही कात्तिक २३ गते सोमबार
बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको
प्रमुख तिलक परियारसहित १ नम्बर प्रदेशको प्रमुखमा परशुराम खापुङ र सुदूरपश्चिम प्रदेशको
प्रमुखमा देवराज जोशीलाई नियुक्त गर्नुभएको थियो । नवनियुक्त तीनवटै प्रदेशका प्रमुखले
कात्तिक २५ गते राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।
–––