2021-11-12 Samachar Sadhai
सुदूरपश्चिम, २६ कात्तिक (रासस) :
सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रदेश
प्रमुख देवराज जोशीले आज धनगढीस्थित प्रदेश प्रमुुखको कार्यालयमा आफ्नो पदभार ग्रहण
गर्नु भएको छ । प्रदेश प्रमुखको कार्यालयमा पुग्दा उहाँलाई सुदूरपश्चिम प्रदेश सरकारका
मन्त्री, प्रदेशसभाका सभामुख र सदस्यहरू, प्रदेश सरकार उच्च पदस्थ कर्मचारीले स्वागत
गर्नु भएको थियो ।
विसं २०२० मा बाजुराको साविक कुलमाडौँ
गाविस (हाल बुढीगङ्गा नगरपालिका–५मा) जन्मिनु भएका उहाँ प्रजातन्त्र स्थापनाका लागि
भएका सङ्घर्षका क्रममा पटकपटक पक्राउ पर्नुभएको थियो । बाजुराकै भानुदय माविमा प्रवेशिका
परीक्षा(एसएलसी) उत्तीर्ण गर्नुभएका उहाँले कैलाली बहुमुखी क्याम्पस धनगढीबाट प्रमाणपत्र
तह र त्यसपछि त्रिभुवन विश्व विद्यालयबाट अङ्ग्रेजी विषयमा डिप्लोसम्मको अध्ययन गर्नु
भएको थियो ।
विसं २०४६ मा भएको राजनैतिक परिवर्तनसँगै
२०४८ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित उहाँ देशकै कान्छो प्रतिनिधिसभा
सदस्य हुनुहुन्थ्यो । नेपाली कांग्रेसले टिकट दिएपछि उहाँ भानुदय माविको शिक्षक पदबाट
राजीनामा गरेर प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएको थियो । उहाँ पहिलो संविधान सदस्यका
लागि भएको निर्वाचनमा बाजुराबाट निर्वाचित हुनु भएको थियो । सशस्त्र युद्धको समयमा
तत्कालिन बिद्रोही माओवादीले विसं २०५८ मा उहाँलाई अपहरण गरेर ८२ दिनसम्म बेपत्ता पारेको
थियो ।
पदभार ग्रहणपछि रासससँग कुरा गर्दै उहाँले
सबैको सहयोगमा आफूले पदीय जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री
एवम् पार्टी सभापति शेरबहादुर देउवाले आफूप्रति विश्वास र भरोसा गरेर प्रदेश प्रमुखको
जिम्मेवारी दिनु भएकोमा आभार व्यक्त गर्दै उहाँले भन्नुभयो, “पदअनुकूलको आचरण र व्यवहार
गर्न आफू प्रतिबद्ध छु, काम गर्दा सबैबाट सहयोग प्राप्त हुने विश्वासमा छु ।” देश सङ्घीय
संरचनामा गएसँगै सुदूरपश्चिम प्रदेशमा नियुक्त हुने उहाँ चौथो प्रदेश प्रमुखम हुनुहुन्छ
।
–––