नारायणगढ जेसीजद्वारा बिभिन्न सामाजिक संस्थालाई आर्थिक सहयोग प्रदान



2021-08-14    Samachar Sadhai

नारायणगढ जेसीजले जेसीज सप्ताहको अवसर पारेर विभिन्न सामाजिक कामका लागि आर्थिक सहयोग गरेको छ । साउन १७ देखि सुरु गरिएको जेसीज सप्ताह–२०२१ को दौरान ती सहयोग गरिएका हुन् । जेसीज विकास रनिङ शिल्ड फुटबल–२०७६ बाट बचत भएको रकममध्ये जेसीजले विभिन्न ८ संघसंस्थालाई सहयोग गरेको हो । जेसीज वर्ष २०१९ का अध्यक्ष विकासमान श्रेष्ठका अनुसार जेसीज विकास रनिङ शिल्ड फुटबलबाट ५ लाख २५ हजार रुपैयाँ बचत भएको थियो । त्यसमध्ये १ लाख रुपैयाँ भरतपुर–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको रहोबरमा रंगशाला प्रतिनिधि अर्जुन भुषाललाई सो रकमको चेक हस्तान्तरण गरिएको हो । त्यस्तै क्याम्पाचौरमा शौचालय व्यवस्थापनका लागि १ लाख रुपैयाँ दिइएको छ । बालमाविद् एलुम्नाई एशोसिएशनका अध्यक्ष सेवन पन्तमार्फत उक्त रकमको चेक हस्तान्तरण गरियो । शाखाले इच्छाकामनामा रहेको जेसीज गाउँलाई ५० हजार, मञ्जुश्री असहाय केन्द्र भरतपुरलाई १५ हजार, आदर्श गृह भरतपुरलाई १५ हजार, मानव सेवा आश्रम भरतपुरलाई २५ हजार र चमेलीदेवी पिया आधारभूत विद्यालय भरतपुरलाई २० हजार रुपैयाँ प्रदान गरेको छ । बचतमध्ये बाँकी २ लाख २० हजार रुपैयाँ शाखाले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा राखिने वर्ष २०१९ का शाखा अध्यक्ष विकासमान श्रेष्ठले जानकारी दिए । सन् २०१७ मा पहिलोपटक जेसीज कप फुटबल प्रतियोगिता आयोजना गर्दा बचेको १ लाख ३० हजारबाट तत्कालीन अध्यक्ष बाबुराम रामुदामुले छात्रवृत्ति कोष स्थापना गरेका थिए । यसमा अझै कोष बढाउँदै लगेर गरीब तथा जेहेन्दार विद्यार्थीलाई पढाउने योजना रहेको जेसीज वर्ष २०२१ का अध्यक्ष बासुदेव दवाडीले बताए । यसअघि नै सामाजिक काममा गर्ने भनिए पनि कोभिड महामारीका कारण रोकिएका सहयोग जेसीज सप्ताहको अवसर पारेर वितरण गरिएको वर्ष २०१९ का अध्यक्ष श्रेष्ठले बताए । साताभर अन्तरजेसीज हाजिरीजवाफ, खेलकुद पत्रकार मञ्च चितवनसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा विविध सामाजिक कामहरू गरिएका अध्यक्ष दवाडीले जानकारी दिए । जेसीजले हरेक वर्ष सामाजिक गतिविधिसहित जेसीज सप्ताह गर्दै आएको वर्ष २०२१ का कानूनी सल्लाहकार अमृत श्रेष्ठले जानकारी दिए ।