कबिलासी नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी कर्ण सहित हजारऔ कार्यकर्ता कांग्रेसमा प्रवेश



2022-04-13    Samachar Sadhai

गैर – नेकपा एमालेका नेता विनय कर्ण नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कर्ण २०७४ सालको निर्वाचनमा एमालेको तर्फबाट सर्लाहीको कबिलासी नगरपालिकाको प्रमुखका प्रत्यासी थिए । उनी त्यसबेला तेस्रो हुन पुगेका थिए । उनै कर्णलाई बुधबार कविलासी नगरपालिका–७, स्थित गैर बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसको मधेस प्रदेश समितिका सभापति कृष्णा यादव, प्रदेश उपसभापति एवं प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंह र काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले फूलमाला र अबिर पहिर्याएर पार्टीमा प्रवेश गराएका हुन् । यस्तै, एमालेबाटै निर्वाचित कबिलासी नगरपालिका–८, अगर्वाका वडाध्यक्ष वीरेन्द्र प्रसाद साहसहित ठूलो संख्यामा अन्य पार्टीका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका कांग्रेसका नेताहरुले दावी गरेका छन् । यसअघि तत्कालिन संघीय समाजवादी फोरमबाट नगरप्रमुखको प्रत्सासी ब्रम्हदेव राय पनि कांग्रेसमा प्रवेश गरिसकेका छन् । दोस्रो बढी मत ल्याएका राय निर्वाचन लगत्तै कांग्रेसमा आएका थिए । कविलासी नगरपालिकाको प्रमुखमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का कौशलकिशोर यादव निर्वाचित भएका थिए । पछिल्लो समय जनता समाजवादी पार्टीमा रहेका मेयर यादव भने अहिले नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छन्