2021-11-05 Samachar Sadhai
काठमाडौँ, १९ कात्तिक (रासस) :
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल
संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना
अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको
छ ।
‘नेपाल संवत् ११४२’ प्रारम्भ भएका अवसरमा
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका
लागि आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले लिच्छवी राजा राघवदेवको समयमा
काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाले संवत्लाई
प्रचलनमा ल्याएको उल्लेख गर्नुभएको छ ।
“साख्वाले कृषिलाई प्राथमिकता दिएको कुरासमेत
स्पष्ट हुन्छ । राष्ट्रिय विभूति साख्वाको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै
निस्वार्थ भावले समाजको हित, उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा
मिल्ने विश्वास व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ, “आदिकालदेखि नै नेपाली समाज सभ्य
र सहिष्णु रहिआएको छ । हाम्रा चाडपर्व र यस खालका असल परम्पराले यसलाई थप सुदृढ बनाउँदै
लगेका छन् । सांस्कृतिक एवं भाषिकरूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको
प्रवद्र्धन गर्ने उत्सवका रूपमा नेपाल संवत् मनाउन सबैमा आह्वान गर्दछु ।”
–––