2021-11-08 Samachar Sadhai
काठमाडौँ, २२ कात्तिक (रासस) :
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि आज पार्टी काममा फर्किनुभएको छ । पार्टी
केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा दिउँसो २ देखि साँझ ५ बजेसम्म उपस्थित भइ उहाँ
प्रमुख रहनुभएको विदेश विभागको पहिलो बैठकमा सहभागी हुनुभयो । उहाँले विभागका सदस्यसँग
विभागका आगामी कामबारे छलफल गर्नुभयो । पूर्वप्रधानमन्त्री खनालले विदेश विभागको सचिवमा
डा शङ्कर खतिवडालाई मनोनयन गर्नुभएको छ । उहाँले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग
कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी लिनुभएको छ ।
गत साउन २० गते भारत, नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा
मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकको सल्लाहमा उहाँ घरमै आराम गरेर बस्नुभएको थियो
। मिर्गौला उपचारका क्रममा उहाँले सुरुमा काठमाडौँस्थित नर्भिक अस्पतालमा र त्यहाँका
चिकित्सकहरुको रायका आधारमा थप उपचारका निम्ति गत असार २ गते दिल्लीस्थित एपोलो अस्पताल
जानुभएको थियो । मिर्गौला प्रत्यारोपणपछि उहाँ दिल्लीबाट भदौ १४ मा स्वदेश फर्किनुभएको
हो ।
चिकित्सकहरूले तीन महिना पूर्ण आराम गर्न सल्लाह
दिएका कारण त्यस अवधीभर उहाँ कुनै पनि कार्यक्रममा उपस्थित हुनु भएन । उक्त समय अवधि
सकिए पनि अझै केही समय सार्वजनिक कार्यक्रम (भेला, बैठक, सभा) मा नजाने हुनुभएको छ
। पार्टीका आन्तरिक गतिविधिमा भने उहाँ सहभागी हुनुहुने भएको छ । नेकपा (एकीकृत समाजवादी)
गठन भएपछि उहाँ एउटा सचिवालय बैठकमा उपस्थित हुनुभएको थियो तर पार्टी कार्यालय स्थापना
भएपछि उहाँ पहिलोपटक कार्यालय आउनुभएको हो । उहाँ अब नियमित रुपमा कार्यालयमा रहनुहुने
भएको छ ।
–––
Popular News